खुम्बु ल्होसार कप–२०२६ को फाइनल आज,महेन्द्र ज्योति र नाम्चे युथ भिड्दै – Sagarmathapana:: Online News Portal

खुम्बु ल्होसार कप–२०२६ को फाइनल आज,महेन्द्र ज्योति र नाम्चे युथ भिड्दै

   २०८२ फाल्गुन ३ गते  

काठमाडौं।शेर्पा समुदायको सांस्कृतिक उत्सवसँग जोडिएको १५औँ खुम्बु ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको फाइनल खेल आज महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च (फाराक) र नाम्चे युथ क्लब (नाम्चे) बीच हुँदैछ। उपाधिका लागि हुने यो प्रतिस्पर्धाले यस वर्षको प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।

यस वर्षको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। सहभागी टिमहरूमा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम (फाराक), नाम्चे युथ ग्रुप (नाम्चे), खुम्जुङ युथ क्लब (खुम्जुङ), खुन्दे कम्युनिटी क्लब (खुन्दे), थामिचोवा फुटबल क्लब (थामे), आमादब्लाम युथ ग्रुप (पाङ्बोचे), खुम्बु याम्बु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका थिए।


प्रतियोगिताको विजेता टिमले रु १ लाख ५० हजार, उपविजेताले रु ८० हजार तथा तेस्रो हुने टिमले रु ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

खुम्बु ल्होसार कप–२०२६ का लागि 14 Peaks Expedition Pvt. Ltd. शीर्ष प्रायोजक रहेको छ भने Heli Everest Pvt. Ltd.Khumbu Pasang Lhamu Rural Municipality सह–प्रायोजकका रूपमा रहेका छन्। साथै अन्य विभिन्न संघ–संस्थाहरूले पनि प्रतियोगितालाई सहयोग गरिरहेका छन्।


आयोजक समितिका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले शेर्पा समुदायको सांस्कृतिक पहिचान संरक्षणसँगै युवामा खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सफल आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा सरोकारवालालाई धन्यवादसमेत व्यक्त गरे।

ल्होसारको अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगिताले खेलकुदमार्फत सामाजिक एकता र सांस्कृतिक उत्सवलाई थप मजबुत बनाउँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै