प्रधानमन्त्री कार्कीसँग तामाङ घेदुङको भेट, सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथि बन्न आग्रह – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री कार्कीसँग तामाङ घेदुङको भेट, सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथि बन्न आग्रह

   २०८२ माघ २ गते  

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले आज बिहान शिष्टाचार भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, भाषा–संस्कृति तथा आर्थिक–सामाजिक अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो।

घेदुङका प्रतिनिधिहरूले यही माघ ५ गते सोनाम ल्होछारको अवसरमा काठमाडौँमा आयोजना गर्न लागिएको तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम मा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए।

भेटका क्रममा घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको वास्तविक जनसङ्ख्या ३० लाखभन्दा बढी रहे पनि पछिल्लो जनगणनामा त्रुटिका कारण करिब १७ लाख मात्र देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट लोकतान्त्रिक निकास निकाल्न निर्वाचन नै एकमात्र विकल्प भएको बताउनुभयो। उहाँले समाजका सबै तह र समुदायबाट निर्वाचन सफल बनाउन सहयोगको अपेक्षा गर्नुभयो।

मुलुक चुनावमा होमिएको छ।यो चुनाव सामान्य नभई देशलाई निकास दिने र दिगो स्थिरतातर्फ लैजाने ऐतिहासिक चुनाव हो,प्रधानमन्त्री कार्कीले भन्नुभयो,भदौ २३ र २४ गतेलाई सबैले दिमागमा राख्नुपर्छ। अब यस्तो अवस्था बारम्बार दोहोरिनु हुँदैन। हामी युवाको आकांक्षाअनुसार अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीले आउँदो निर्वाचनमा नयाँ, युवा र इमानदार प्रतिनिधि संसद्मा पठाउन आग्रह गर्दै पुरानो सोच, शैली र मानसिकताले अब देश सञ्चालन गर्न नसकिने स्पष्ट गर्नुभयो। उहाँले युवाको भावनाअनुसार शासन प्रणाली अघि बढाउन नेतृत्वमा पनि युवा र इमानदार व्यक्ति आउनुपर्नेमा जोड दिनुभयो।

साथै, चुनावका क्रममा हुने अनावश्यक चलखेल र गलत गतिविधि रोक्न समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा प्रधानमन्त्रीले राख्नुभयो।

भ्रष्टाचार अन्त्य गर्न चुनावबाटै पहल हुनुपर्छ।मतदाता स्वयं सजग बन्नुपर्छ,उहाँले भन्नुभयो, “विगतमा देखिएका गलत अभ्यास र प्रवृत्तिलाई अब निरुत्साहित गर्न आवश्यक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै