बालेन शाह किरात समुदायको ऐतिहासिक यलम्बर संवत् ५०८६ कार्यक्रममा विशेष अतिथि
काठमाडौं।कमै मात्र सार्वजनिक कार्यक्रममा देखिने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह किरात समुदायको ऐतिहासिक यलम्बर संवत् ५०८६ को विशेष कार्यक्रममा सम्मानित विशेष अतिथिका रूपमा सहभागी भएका छन्।
कार्यक्रममा सहभागी अतिथिहरूलाई किरात समुदायको पहिचान झल्किने फेटा पहिराइ सम्मान गरिएको थियो। काठमाडौँ महानगर प्रमुख शाहले पनि फेटा लगाउँदै शुभकामना मन्तव्य दिएका थिए।


कार्यक्रममा बोल्दै शाहले यलम्बरलाई किरात समुदायले राजा माने पनि काठमाडौँमा भगवानका रूपमा पूजा गर्ने गरेको जानकारी दिनु भयो र परम्परा विकास गर्नुपर्ने धारणा राखे।उनले किरात चाडपर्वलाई एकताको प्रतीकको रूपमा उल्लेख गर्दै आफ्नो पहिचान, धर्म र संस्कृतिको संरक्षण गर्नु नै पहिचान जोगाउनु भएको बताए।
“विविधतामा एकता नै नेपालको शक्ति हो,” भन्दै शाहले सबै समुदायको इतिहास, संस्कृति र परम्पराको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
यलम्बर संवत् किरात समुदायको ऐतिहासिक गौरव र सभ्यताको प्रतीकका रूपमा मनाइँदै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा किरात समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















