नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रतिनिधि उत्साहजनक सहभागितासहित पहिलो दिन सम्पन्न
काठमाडौं।नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज औपचारिक रूपमा सुरु भएको छ ।पार्टीको केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि,भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि, नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थितिमा महाधिवेशनको पहिलो दिन उत्साहजनक वातावरणमा सम्पन्न भएको हो ।
उद्घाटन सत्रमा पार्टी नेतृत्वले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, वर्तमान राजनीतिक परिस्थितिको समीक्षा तथा आगामी रणनीतिबारे धारणा राखेका थिए । महाधिवेशनलाई सफल बनाउन सबै तहबाट देखिएको सक्रिय सहभागिताले पार्टीभित्र एकता र प्रतिबद्धता झल्किएको नेताहरूले बताएका छन् ।


महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया आज बिहानदेखि सुरु गरिएको थियो । दर्ता प्रक्रियामा प्रदेश, भ्रातृ संगठन तथा जनसम्पर्क समितितर्फबाट ठूलो संख्यामा सहभागिता रहेको महाधिवेशन सचिवालयले जनाएको छ । बाँकी विवरण अद्यावधिक गर्दै दर्ता प्रक्रिया भोलि बिहानदेखि पुनः निरन्तरता दिइने जानकारी पनि सचिवालयले दिएको छ ।
पहिलो दिन उद्घाटन सत्रसँगै विभिन्न औपचारिक कार्यक्रमहरू सम्पन्न भएका छन् । महाधिवेशनका आगामी सत्रहरूमा पार्टीको विधान, संगठनात्मक संरचना, राजनीतिक प्रस्ताव र समसामयिक मुद्दामाथि गहन छलफल हुने कार्यतालिका रहेको छ ।
पार्टी नेतृत्वले दोस्रो विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । महाधिवेशनबाट निस्कने निर्णयले पार्टीको संगठनात्मक मजबुती र राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकालाई थप स्पष्ट बनाउने विश्वास व्यक्त गरिएको छ ।













