निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम पुस २८ र २९ गते
काठमाडौँ-आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ। आयोगले पुस २८ र २९ गते काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा तालिम आयोजना गर्न लागेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका निर्वाचन अधिकृतहरूलाई समेटेर चार स्थानमा तालिम सञ्चालन गरिनेछ। तालिमका लागि आयोगका पदाधिकारी तथा सम्बन्धित कर्मचारीहरूलाई आवश्यक कार्यविभाजन गरी खटाइसकिएको छ।


यसअघि प्रशिक्षक प्रशिक्षण सम्पन्न भइसकेको र ती प्रशिक्षकमार्फत थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। तालिमपछि निर्वाचन अधिकृतहरूले आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सुरु गर्नेछन्।
निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरिसकेको जनाएको छ।












