केदार कार्कीले गरे विशेष महाधिवेशनको समर्थन,कोइराला समूह दबाबमा
काठमाडौं।नेपाली कांग्रेसका नेता तथा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीको विशेष महाधिवेशनको खुलेर समर्थन गरेका छन्।डा.शेखर कोइरालासँग नजिक मानिने कार्कीको यस कदमले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ।
कार्कीको समर्थनपछि मोरङ क्षेत्र नम्बर ६ लाई विशेष महाधिवेशनबाट अलग राख्ने प्रयास असफल भएको संकेत देखिएको छ। उनले आइतबार सामाजिक सञ्जालमार्फत देश र पार्टीको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा सार्वजनिक गरेका हुन्।
उनको यस अभिव्यक्तिलाई कोइराला पक्षका लागि आफ्नै प्रभाव क्षेत्रभित्रबाट आएको चुनौतीका रूपमा हेरिएको छ। पार्टीभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक मतभेदलाई समाधान गर्न विशेष महाधिवेशन आवश्यक रहेको कार्कीको तर्क छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशन हाल काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आयोजक पक्षका अनुसार महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको छ।
पार्टीको भावी नेतृत्व र संगठनात्मक पुनर्संरचनाका विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिएको यस महाधिवेशनले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने विश्लेषकहरूको भनाइ छ।












