इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय युवक नियन्त्रणमा – Sagarmathapana:: Online News Portal

इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय युवक नियन्त्रणमा

   २०८२ पुष २६ गते  

काठमाडौँ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको आधिकारिक कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवा मार्फत शंकास्पद तथा अवैध आर्थिक कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–७ निवासी १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्।

प्रहरीका अनुसार उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर (PAN) सहितका महत्त्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरी इसेवा मर्चेन्ट वालेट तथा व्यक्तिगत इसेवा वालेट खोलेका थिए। ती वालेटमार्फत गैरकानुनी आर्थिक कारोबार सञ्चालन भइरहेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उप्रेतीले खोलेको इसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र व्यक्तिगत इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

सट्टेबाजी लगायतका अवैध प्रयोजनमा १ करोड १२ लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीले उप्रेतीको साथबाट अपराधमा प्रयोग भएका सामग्रीहरू समेत बरामद गरेको छ। बरामद सामग्रीमा एक थान ल्यापटप, दुई थान मोबाइल फोन, १६ थान एनसेल सिमकार्ड, ३ थान नमस्ते सिमकार्ड, एक थान स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड रहेका छन्।

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको एसपी आचार्यले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै