भाटभटेनीलाई १५ अर्बसम्म क्षति, तर कर्मचारीलाई जागिरबाट ननिकाल्ने – Sagarmathapana:: Online News Portal

भाटभटेनीलाई १५ अर्बसम्म क्षति, तर कर्मचारीलाई जागिरबाट ननिकाल्ने

   २०८२ आश्विन ३ गते  

काठमाडौं-हालैको जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट सबैभन्दा ठूलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले कर्मचारीलाई सुरक्षित गर्ने घोषणा गरेको छ।

देशभरका स्टोर पूर्णरूपमा क्षतिग्रस्त हुँदा भाटभटेनीलाई करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि, कम्पनीले प्रभावित स्टोरका कर्मचारीलाई जागिरबाट ननिकाल्ने मात्र होइन, भदौ महिनाको तलबसहित दशैं बोनस पनि दिने निर्णय गरेको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले कुराकानीमा भने,

“मसँग आबद्ध भाइबहिनीहरुको भविष्यका लागि लड्नुपर्ने छ। काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु। दशैं बोनस समेत पठाउँछु,” उनले बताए।

गुरुङले कर्मचारीलाई आफ्नो परिवारको सदस्यको रूपमा लिने बताएका छन्।

“म आफैंले दशैं नमनाए पनि मेरा बच्चाहरु जसले मसँग काम गर्छन्, उनीहरुले दशैं मनाउनुपर्छ। त्यसैले बोनस पाउनेछन्,” उनले थपे।

उनका अनुसार आफू व्यापारलाई केवल नाफाको लागि नभई रोजगारी सिर्जना र देशको समृद्धिका लागि अघि बढाएको हुन्।

स्टोर पुनः सञ्चालन गर्ने योजना

गुरुङले काठमाडौंका केही स्टोर ३ महिनाभित्र र बाँकी सबै स्टोर १० महिनाभित्र सञ्चालनमा ल्याउने योजना सुनाए। उनले क्षतिको यकीन अझै नभए पनि १५ अर्बसम्मको नोक्सानी भएको हुनसक्ने बताए।

“सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ। फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ,” उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै