निर्वाचन र पुनःनिर्माणका लागि स्रोत खोज्न अर्थ मन्त्रालयको कार्यदल गठन
काठमाडौं।हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री सदस्य रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार अहिलेको बजेटभित्रै पुनःसंयोजन गरेर स्रोत जुटाउने सम्भावना अध्ययन गर्न कार्यदल बनाइएको हो।
उनका अनुसार, “चुनाव र पुनःनिर्माणका लागि आवश्यक रकम तत्काल जुटाउन बजेटकै केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ। प्राथमिकता निर्धारण गर्ने अधिकार कार्यदललाई दिइएको छ।”
सोमबार पदभार ग्रहण गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पनि चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबका कारण परेका, तयारी अपुरो भएका र टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने स्पष्ट पारेका थिए।
उनको भनाइअनुसार, सरकारले पूरक बजेट नल्याई अहिलेको बजेटमै समायोजन गरी करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत निर्वाचन र पुनःनिर्माणका लागि जुटाउने तयारी गरेको छ।












