रुपन्देही-३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
भैरहवा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ।
पार्टी सचिवालयको बैठकले नौ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार तय गरेको हो। आकांक्षी सूचीमा थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री रहेका थिए।
भैरहवाको सिद्धार्थ नगरपालिका–९ अञ्चलपुरमा जन्मिएका डा. थापा विगत १६ वर्षदेखि न्युरो साइन्स क्षेत्रमा सक्रिय चिकित्सकका रूपमा परिचित छन्। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्युरोलोजी गरेका उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’ कार्यक्रमका स्नातकसमेत हुन्।
थापाले ८० भन्दा बढी अनुसन्धानात्मक पेपर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन्। चिकित्सक, अभियन्ता तथा सामाजिक व्यक्तित्वको रूपमा स्थापित उनी अब राजनीतिक नेतृत्वमा प्रवेश गर्दैछन्।












