स्वच्छ वातावरणमा मात्रै सम्भव स्वस्थ जीवन : मुख्यमन्त्री कँडेल
सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ जीवनका लागि वातावरण स्वच्छ राख्न अनिवार्य भएको बताएका छन्।
भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसर पारेर आज वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा मुख्यमन्त्री कँडेलले वातावरणीय सरसफाइले मात्र सभ्य र समृद्ध समाज निर्माणमा सहयोग पुग्ने बताए।
मुख्यमन्त्री कँडेलले सबै सरोकारवालालाई आफ्नो अधिकार मात्र नभई कर्तव्य र दायित्व पूरा गर्न आवश्यक रहेको उल्लेख गर्दै भने,
“आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई यसले खुसी बनाउँछ। सरसफाइले स्वास्थ्य मात्र होइन, सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई आकर्षित गर्छ।”
उद्योगी तथा व्यवसायीलाई फोहरलाई सिर्जनात्मक र उपयोगी रूपमा मोहरमा बदल्ने काममा अग्रसर हुन आग्रह गर्दै मुख्यमन्त्री कँडेलले प्राकृतिक मैत्री क्रियाकलापले मानव स्वास्थ्यलाई स्वच्छ राख्ने बताए।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर उपप्रमुख नीलकण्ठ खनाल, र उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्कालगायत सरोकारवालाको उपस्थिती रहेको थियो।
मुख्यमन्त्री कँडेलले प्रदेशवासीलाई तीन दिनसम्म सरसफाइ, सचेतना र व्यवस्थापनमा योगदान दिने सपूतहरूको सम्मान र उनीहरूको सपना पूरा गर्ने उत्सव मनाउन अपील पनि गरे।












