मुसिकोट नगरपालिकामा वडाध्यक्षहरूको अभद्र व्यवहारपछि कर्मचारी आन्दोलित
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधिहरूद्वारा गरिएको अभद्र व्यवहारको विरोधमा नगरपालिका कर्मचारी आन्दोलित भएका छन्। गत शुक्रबार नगरसभा चलिरहेको क्रममा भुक्तानीसम्बन्धी विवाद चर्किएपछि चार जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो।
विवाद वडा नं. २ का वडाध्यक्ष रविन्द्र केसीले दशैंको समयमा आफैंले पहल गरेर सडक सफा गर्न प्रयोग गरिएको डोजरको भुक्तानी नभएको गुनासो राखेपछि सुरु भएको थियो। तर प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार उक्त कार्य नगरपालिकाको औपचारिक निर्णय विना गरिएको थियो।
उनले भने, “कार्यपालिकाको छलफलबाट प्राविधिक मूल्यांकन अनुसार मात्र भुक्तानी दिने निर्णय भएको हो। तर मूल्यांकनअनुसारभन्दा बढी माग भएपछि विवाद उत्पन्न भयो।”
विवादपछि वडाध्यक्ष केसीसहित वडा नं. १ का आनन्द श्रेष्ठ, वडा नं. ८ का रमेश विक र वडा नं. ९ का भुमा गुरुङ्गले गिरीमाथि गम्भीर अभद्र व्यवहार गरेको कर्मचारीको आरोप छ। घटनापछि आक्रोशित कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् र प्रमुख प्रशासकीय अधिकृतमाथिको व्यवहारको निन्दा गर्दै दोषी वडाध्यक्षहरूमाथि कारबाहीको माग गरेका छन्।
कर्मचारी युनियनका प्रतिनिधिहरूले यो घटनाले प्रशासनिक स्वायत्तता र कर्मचारीको सुरक्षा प्रश्नमा गम्भीर असर परेको भन्दै नगर प्रमुख तथा सरोकारवाला निकायसँग तत्काल हस्तक्षेपको माग गरेका छन्।
नगरपालिकाले भने घटनाको आन्तरिक अनुसन्धान भइरहेको जानकारी दिएको छ।












