निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको ‘शुभ विवाह’ मार्फत दोस्रो सहकार्य – Sagarmathapana:: Online News Portal

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको ‘शुभ विवाह’ मार्फत दोस्रो सहकार्य

   २०८२ असार ४ गते  

काठमाडौं–दश वर्षअघिको सुपरहिट सिनेमा ‘प्रेम गीत’ बाट सहकार्य गरेका निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का फेरि एक पटक एकै पर्दामा देखिने भएका छन्। निर्देशक थापाले नयाँ सिनेमा ‘शुभ विवाह’ को नाम चलचित्र विकास बोर्डमा दर्ता गराउँदै मुख्य भूमिकामा प्रदीप खड्कालाई सार्वजनिक गरेका हुन्।

थापा र खड्काबीचको यो दोस्रो सहकार्य हो। उनीहरूबीच गत वर्ष नै लिखित सम्झौता भइसकेको भए पनि सिनेमाको नाम हाल मात्र सार्वजनिक गरिएको हो। निर्देशक थापाले ‘प्रेम गीत’ लाई सम्झँदै भने, “त्यो चलचित्रले धेरै कलाकार र प्राविधिकलाई करियरको उचाइमा पुर्‍यायो। प्रदीप खड्काका लागि पनि त्यो टर्निङ प्वाइन्ट नै थियो।”

पारिवारिक प्रेमकथा हुने ‘शुभ विवाह’

नयाँ सिनेमा ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक सिनेमा हुने बताइएको छ। निर्देशक थापाका अनुसार, “यस सिनेमाले नेपाली धर्म, संस्कार र समाजको मूल्य–मान्यतालाई आत्मसाथ गर्दै विवाहको महत्व दर्शाउनेछ।”

अभिनेत्रीको चयन भने अझै टुंगो लागिसकेको छैन। चाँडै नै कलाकार तथा प्राविधिक टोली फाइनल गरेर छायांकनको प्रक्रिया सुरु हुने निर्माण पक्षले जनाएको छ।

थापाको प्रेमकथात्मक सिनेमामा अनुभव

सुदर्शन थापा नेपाली सिनेमामा प्रेम कथाका सफल निर्देशकका रूपमा परिचित छन्। ‘मेरो एउटा साथी छ’, ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’ जस्ता सिनेमाले बक्स अफिसमा राम्रो व्यापार मात्र होइन, दर्शकको मन जित्न पनि सफल भएका थिए।

यसपटक ‘शुभ विवाह’ मार्फत उनले फेरि एकपटक प्रेमकथाको संसारमा दर्शकलाई डुबाउने प्रयास गरेका छन्। उता, प्रदीप खड्का पनि लभर ब्वाइको छविमा लोकप्रिय छन्।

अब यस जोडीको दोस्रो सहकार्य दर्शकका लागि कति प्रभावकारी हुन्छ भन्ने प्रतिक्षा गर्नुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै