अन्नपूर्ण–१ मा हराएका गाइडको साहसिक उद्धार,अशोक लामाको जोखिमपूर्ण पहल सफल
काठमाडौं।अन्तर्राष्ट्रिय माउन्टेन गाइड अशोक लामा ले हिमाल आरोहणका क्रममा हराएका एक गाइडको सफल उद्धार गरेका छन्। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये १०औँ अग्लो अन्नपूर्ण–१ मा हराइरहेका सहकर्मी गाइड दावा नुर्बु शेर्पा लाई जीवितै फेला पार्दै सुरक्षित रूपमा क्याम्पमा ल्याएका हुन्।
IFMGA/NNMGA प्रमाणित गाइड लामा अन्नपूर्ण–१ को सफल आरोहणपछि बेस क्याम्प फर्किसकेका थिए। तर, सहकर्मी हराएको सूचना पाएपछि उनी पुनः जोखिम मोलेर क्याम्प–३ भन्दा माथि पुगेका थिए। दावा शेर्पा करिब ७,७०० मिटर उचाइबाट अवतरण गर्ने क्रममा सम्पर्कविहीन भएका थिए।

उद्धार अभियान 8K Expeditions को पहलमा सञ्चालन गरिएको थियो। कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पा ले यस घटनालाई चालु सिजनकै सबैभन्दा चुनौतीपूर्ण र निर्णायक उद्धारमध्ये एक भएको बताए।
अत्यधिक थकान, अक्सिजनको कमी र कठोर मौसमका बीच लामा पुनः जोखिम क्षेत्रमा फर्किएका थिए। कडा चिसो र कठिन परिस्थितिसँग जुध्दै उनले हराइरहेका शेर्पालाई फेला पारेर क्याम्प–३ सम्म सुरक्षित ल्याए। हाल दावा शेर्पाको सामान्य फ्रस्टबाइटको उपचार भइरहेको छ र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

उद्धार कार्यमा हेलिकप्टर सहयोग पनि महत्वपूर्ण रह्यो। क्याम्प–३ सम्म हेलिकप्टरमार्फत पुर्याइएका लामा त्यहाँबाट माथि पुगेर उद्धार सम्पन्न गरेका थिए। त्यसपछि घाइते शेर्पालाई हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको छ, जहाँ उनी उपचाररत छन्।
उद्धार अभियानमा विश्व कीर्तिमानी पर्वतारोही लाक्पा शेर्पा (मकालु लाक्पा) को समेत सहयोग रहेको कम्पनीले जनाएको छ। साथै, हेली एभरेष्टका पाइलट प्रिया अधिकारी को भूमिका पनि उल्लेखनीय रहेको बताइएको छ।

कम्पनीका निर्देशक पेम्बा शेर्पा का अनुसार सीमित बीमा कभरेजका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। हाल करिब १० हजार अमेरिकी डलरको बीमा सुविधा रहेकोमा वास्तविक उद्धार खर्च धेरै हुने भएकाले यसलाई कम्तीमा ३० हजार डलरसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याइएको छ।
यस घटनाले नेपालका उच्च हिमाली गाइडहरूको साहस, समर्पण र जोखिम व्यवस्थापन क्षमताको महत्त्वलाई पुनः उजागर गरेको छ।
तस्बीर र स्रोत फुर्वा शेर्पा:The Everest news












