बबरमहलमा कार नियन्त्रण गर्ने क्रममा दुर्घटना : ट्राफिक प्रहरीको स्पष्टीकरण – Sagarmathapana:: Online News Portal

बबरमहलमा कार नियन्त्रण गर्ने क्रममा दुर्घटना : ट्राफिक प्रहरीको स्पष्टीकरण

   २०८३ बैशाख ६ गते  

काठमाडौं।राजधानीको बबरमहल क्षेत्रमा ट्राफिक प्रहरीले कार नियन्त्रणमा लिन खोज्दा भएको दुर्घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले आधिकारिक स्पष्टीकरण दिएको छ।

नयाँ वर्षको दिन बानेश्वर क्षेत्रमा एक मोटरसाइकललाई ठक्कर दिएर फरार भइरहेको बा.प्र.०१–०२९ च ६९०१ नम्बरको कारलाई ‘हिट एण्ड रन’ को सूचनाका आधारमा पछ्याइएको प्रहरीले जनाएको छ। सोही क्रममा बबरमहल पुग्दा कारलाई रोक्न खोज्दा सवारी साधन अनियन्त्रित भई सडक किनारामा ठोक्किएको बताइएको छ।

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो भाइरल भएपछि विभिन्न टिप्पणीहरू आएको अवस्थामा ट्राफिक प्रहरीले वास्तविक तथ्य सार्वजनिक गर्दै घटनाको स्पष्टिकरण दिएको हो। प्रहरीका अनुसार कार चालक फरार हुन खोज्दा यस्तो अवस्था सिर्जना भएको र नियन्त्रणको क्रममा दुर्घटना भएको हो।

प्रहरीले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिइसकेको जनाएको छ भने थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै