पेट्रोलियम पदार्थको मूल्य घट्यो, उपभोक्तालाई राहत
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले आज माघ २ गतेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ।
यसपटकको मूल्य समायोजनले उपभोक्ता वर्गलाई प्रत्यक्ष राहत पुगेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यले बढ्दो महँगीमा दबाब परिरहेको अवस्थामा आएको यो निर्णयलाई सकारात्मक रूपमा हेरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ मूल्य आजदेखि देशभर लागू हुनेछ।













