हिमाल सफा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नयाँ कार्ययोजना स्वीकृत
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना ल्याएको छ ।
पर्यटन सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार हिमाल आरोहणका क्रममा उत्सर्जन हुने फोहोरमैला व्यवस्थापनमा नवीनतम प्रविधिको उपयोग गरी हिमाल सफा राख्ने अभियानलाई सफल पार्न गत मंसिर २८ गते मन्त्रीस्तरियबाट स्वीकृत गरी कार्ययोजना ल्याइएको हो ।

फोहोरमैलाको दिगो व्यवस्थापनद्वारा सफा हिमाल, स्वच्छ वातावरण सुनिश्चित गर्ने दीर्घकालिन लक्ष्य लिएर उक्त कार्ययोजना ल्याएको बताइएको छ ।
कार्ययोजनामा भौगोलिक विशिष्टता बोकेका नेपालका हिमालहरु, भौगोलिक र धरातलीय विशेषता भएका नेपालका २८ वटा हिमश्रृंखलाहरु आदि सफा र स्वच्छ राख्ने योजना रहेको छ ।
हिमाल आरोहणको बढ्दो आकर्षण र यसका चुनौती, नीतिगत र कानुनी व्यवस्था, हिमालको फोहोर व्यवस्थापनबारे भएका विगतका प्रयासहरु र वर्तमान अवस्थालगायतलाई उजागर गरी आवश्यक कार्ययोजना ल्याइएको छ ।












