जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन’ बैठक (रुस-युक्रेन युद्ध रोक्ने योजना ) – Sagarmathapana:: Online News Portal

जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन’ बैठक (रुस-युक्रेन युद्ध रोक्ने योजना )

   २०८१ असार ३ गते  

काठमाडौं । जी–सेभेन सम्बद्ध मुलुकका नेतृत्वहरुको बैठकले युक्रेन तथा गाजामा जारी युद्धलाई कसरी रोक्न सकिन्छ भन्ने कुरामा छलफल गर्नेछन् ।

जी–सेभेन शिखर सम्मेलनमा अफ्रिका तथा इन्डो प्यासिफिक क्षेत्रका मुलुकका नेताहरु पनि सहभागी हुनेछन् । उनीहरुले विकासशील देशलाई आर्थिक सहयोग बढाउने विषयमा पनि विचार विमर्श गर्नेछन् ।

जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन’ विश्वका सातवटा अत्याधुनिक अर्थव्यवस्था भएका देशहरुको एक समूह हो । विश्वव्यापी व्यापार तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा यो समूहको दबदबा छ ।

यसका सदस्य मुलुकहरुमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका हुन् ।

रुसलाई पनि सन् १९९८ मा यो समूहमा सामेल गरिएको थियो र त्यसको नाम जी–८ भयो । तर सन् २०१४ मा क्राइमियामाथि कब्जा गरेसँगै रुसलाई सो समूहबाट निस्कासन गरियो ।

एउटा विशाल अर्थतन्त्र तथा विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश हुनुका बाबजुद चीन हालसम्म यो समूहमा सहभागी छैन ।

चीनमा प्रतिव्यक्ति आय यी सात देशहरुको तुलनामा निकै कम छ । त्यसैले चीनलाई समृद्ध अर्थतन्त्र मानिँदैन । तर जी–ट्वान्टी समूहमा भने चीन लगायतका विकासशील देशहरु समेत सामेल छन् ।

युरोपेली संघ पनि जी–सेभेनको सदस्य छैन । तर पनि उसका अधिकारीहरुले जी–सेभेनको वार्षिक शिखर सम्मेलनहरुमा भाग लिन्छन् ।

जी–सेभेन देशका मन्त्री तथा अधिकारीहरुले वर्षभर नै बैठक गर्दछन्, सम्झौता तयार गर्दछन् र विश्वव्यापी घटनाहरुका विषयमा साझा वक्तव्य जारी गर्दछन् ।

यो वर्ष इटालीले जी–सेभेनको अध्यक्षता गरिरहेको छ ।

शिखर सम्मेलनमा के छ इटालीको एजेण्डा ?

यो वर्ष १३ जुनदेखि सुरु भएको जी–सेभेन शिखर सम्मेलन १५ जुनसम्म चल्नेछ ।

इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी
सन् २०२२ को अक्टोबरमा सत्ता सम्हालेपछि इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले पहिलोपटक कुनै पनि अन्तर्राष्ट्रिय फोरमको आतिथ्यता गरिरहेकी छिन् ।

इटालीले यो सम्मेलनमा युक्रेन र गाजा युद्धका अतिरिक्त अफ्रिका तथा आप्रवासनका मुुद्दामा पनि छलफल होस् भन्ने चाहेको छ ।

साथै आर्थिक सुरक्षा र एआईमा सहयोगको मुद्दा पनि इटालीले यो पटक उठाउन चाहेको छ।

गाजा र युक्रेनको मामिलामा जी–सेभेनले के गर्न सक्छ ?

जी–सेभेन मुलुकहरुले यसअघि नै रुसी अर्थव्यवस्थामाथि कडा प्रतिबन्ध लगाइराखेका छन् ।

ती देशहरुले रुसलाई अन्तर्राष्ट्रिय व्यापार तथा विश्व वित्तीय प्रणालीबाट पूर्णरुपमा बन्देज गरिदिएका छन् ।

जी–सेभेन तथा युरोपेली संघले रुसको ३ सय २५ अर्ब डलरको सम्पत्ति पनि फ्रिज गरिदिएको छ । उक्त रुसी धन उल्लेखित सातवटा मुलुकमा जम्मा गरिएको थियो । त्यसमा रुसको केन्द्रीय बैंकले जम्मा गरेको विदेशी मुद्रा पनि सामेल छ ।

३ जुनमा जी–सेभेन देशका नेताहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनको गाजा युद्ध रोक्ने योजनालाई पनि हरियो झण्डा देखाएका थिए ।

बाइडेनले इजरायल तथा हमासबीच तुरुन्तै युद्धविरामको प्रस्ताव राखेका छन् । उक्त शान्ति प्रस्तावमा सबै बन्धकहरुको रिहाइ तथा गाजामा सहायता वृद्धि गर्ने विषय समावेश छ ।

बाइडेनको प्रस्तावमा यस्तो शान्ति सम्झौता हो जुन इजरायलको सुरक्षा र गाजाका जनताको रक्षाको ग्यारेन्टी बन्न सकोस् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै