कृषि अर्थतन्त्रको मेरुदण्ड यसबाट फाइदा लिन रणनीति र कार्यक्रम आवश्यक: चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै ढकालले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन रणनीति र कार्यक्रम आवश्यक भएको बताए।
अध्यक्ष ढकालले अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको र कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याइरहेको चर्चा गर्दै वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व, र पुरानो प्रविधि जस्ता समस्याहरूले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राखे।
उहाँले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानहरूलाई बजारसँग जोड्ने, र साना तथा मझौला कृषि व्यवसायहरूको लागि पूँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता रहेको बताए।
ढकालले ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनु पर्नेमा जोड दिए। साथै, रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने, ग्रामीण क्षेत्रमा वित्तीय सेवाहरू विस्तार गर्ने, र किसान, महिला उद्यमी तथा साना व्यवसायहरूलाई सशक्त बनाउन लागिपरेको पनि बताए।
त्यस्तै, नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि विभिन्न परियोजनाहरू अघि बढाइएको जानकारी दिए।
अध्यक्ष ढकालले नेपालको कृषि तथा अन्य विकास परियोजनामा विकास साझेदारहरूको सहयोगप्रति आभार व्यक्त गर्दै समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार, विकास साझेदार, र निजी क्षेत्रको सहकार्यमा जोड दिए।












