पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ नगरिने गगन थापाको भनाई, नागरिकको हैसियतमा मत राखेको टिप्पणी
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने मत राखेका छन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भैरहेको थियो ।

यही सन्दर्भमा शाहको अभिव्यक्ति संविधानविरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेका थिए । राजावादी नेताहरुले बाबुरामलाई सामाजिक सञ्जालमार्फत नै जवाफ फर्कारहेका छन् । यस्तोमा गगनलाई पनि सोधिएको प्रश्नमा उनले बोलेकै कारण ज्ञानेन्द्रलाई पक्राउ नगरिने धारणा राखेका थिए ।


सो क्रममा उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पारेका छन्। आज (शुक्रबार) विराटनगर विमानस्थलमा जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने स्पष्ट पारे । उनले भने,‘पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’














