अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान किन नगरेको:लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

लिङदेनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवर्द्धनका लागि खर्च गरेको अभिव्यक्ति दिएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिब १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।

उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरे ।

‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरु बिक्री भए भनेर बजारमा कुरा हुन्थ्यो,’ उनले भने , ‘अहिलेको संविधानप्रति धेरै असहमति छन् । कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवर्द्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने कुरा हो कि होइन ?’

पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुन्, उनी रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्छन् । उनले नेपालमा नास्तिकता प्रवर्द्धन गर्न ५ मिलियन डलर खर्च भएको बताएका हुन् । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोर्डले नै ५ मिलियन डलर नभएर त्यो भन्दा २० गुणा बढी १ सय मिलियन डलर नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवर्द्धन लागि खर्च भएको बताएका थिए ।
यसमा सरकारले चासो राख्नुपर्ने विषय हो कि होइन भन्दै म सरकारसँग प्रश्न गरे ।













