वर्तमान सरकारको नियतमै खोट: डिपी अर्याल – Sagarmathapana:: Online News Portal

वर्तमान सरकारको नियतमै खोट: डिपी अर्याल

   २०८१ माघ २८ गते  

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले वर्तमान सरकारको नियतमै खोट भएको टिप्पणी गरेका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अर्यालले राजनीतिलाई पेसा बनाएर भ्रष्टाचार गर्नेहरूले सुशासनका मुद्दा उठाएर भर्खरै राजनीतिमा प्रवेश गरेकाहरूमाथि डन्डा चलाउने प्रयास गरेको आरोप लगाए।

उनले भने, ‘यो सरकारको नियतमै खोट छ । व्यक्तिका पछि लागिरहेको छ। जसजसले राजनीतिलाई पेसा नै बनाएर भ्रष्टाचार गर्ने थलो बनाए, उनीहरू आज भर्खरै राजनीतिमा प्रवेश गरेकाहरूमाथि डन्डा चलाउने प्रयास गरिरहेका छन्। जसले जनताका जीविका र सुशासनको मुद्दाबाहेक अरू कुरा  गरिरहेका छैनन्, उनीहरूमाथि सरकारले दमन गर्न खोजिरहेको छ। जनताले कुनै पनि सरकारबाट यस्तो अपेक्षा गरेको हुँदैन।’

वैकल्पिक शक्तिका रूपमा उदायकाहरूले नयाँ सोच र विचारबाट राजनीति गर्ने प्रयास गरिरहँदा सरकार उनीहरूलाई छानीछानी गलहत्याउन लागिपरेको अर्यालको आरोप छ।

‘तपाईं–हामी नयाँ सोच र विचारबाट राजनीति गर्न खोज्दै छौँ । प्रविधिको अधिकतम प्रयोग गरेर जतिसक्दो छिटो जनताले महसुस गर्ने खालको नीति निर्माण गर्दै देशमा सिस्टम बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘यो सरकार किन देशमा केही नयाँ गरौँ भनी राजनीतिमा आएका व्यक्तिहरूलाई छानीछानी गलहत्याउन लागिपरेको छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै