संसद्मा पनि रङ्गभेदी व्यवहार गरिन्छ र सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने: राउत
काठमाडौँ जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संसद्मै रङ्गभेदी व्यवहार गरिने गरेको बताएका छन्।
शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘संसद्मै रङ्गभेदी व्यवहार गरिन्छ,’ उनले भने, ‘संसद्को मुखिया नै नस्लवादी भएपछि के गर्नु।’
अगाडि उनले भने, ‘सिंहदरबारमा पनि त्यही गरिन्छ। गेटमा हामीलाई सोधिन्छ। अझ भाइ आप भारतसे हो भनेर सोधिन्छ। तर, भुटान, बर्मा, अमेरिकी नागरिकता बोकेर कोही आयो भने सहजै छिर्न दिइन्छ।’

अध्यक्ष डा. राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए ।



उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोही अनुसार काम नहुने गरेको बताए । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।



उनले भने, “संसद किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ । सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शिर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ ।”
अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने गरेको आरोप समेत लगाए ।















