१६ वर्षपछि अमेरिकामा ठूलो विमान दुर्घटना ४३ वर्षअघि सोही नदीमा भएको दुर्घटनामा ७८ जना मारिएका थिए
काठमाडौं ।अमेरिकामा धेरैको ज्यान जानेगरी विमान दुर्घटना नभएको १६ वर्ष बितिसकेको थियो। फेब्रुअरी २००९ मा न्युयोर्कमा कन्टिनेन्टल एयरलाइन्सको विमान एउटा घरमा ठोक्किएको थियो।
१६ वर्ष पछि ६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो। यो समाचार तयार पार्दासम्म उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनमा उल्लेख छ।
अहिलेसम्म ४० को शव निकालिए पनि विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।



वासिङ्गटन डिसीनजिकै बुधबार साँझ भएको दुर्घटनामा कोही पनि बाँच्न नसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। ६० यात्रु र ४ चालक दलसहित ६४ सदस्य सवार उक्त विमान र हेलिकप्टर दुर्घटनापछि पोटोम्याक नदीमा खसेको थियो। हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। विमानमा अमेरिकाबाट फिगर स्केटरहरू पनि थिए। रसियाले विमानमा आफ्ना केही नागरिक पनि सवार रहेको पुष्टि गरेको छ।

जेट क्यान्ससबाट वासिङ्गटन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (एच–६०) हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न अनुसन्धानकर्मीहरूले हेलिकप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।
हेलिकप्टरमा सेनाका कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, ‘मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून्।’
यसअघि एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएका थिए। उक्त दुर्घटनाको अडियोमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ। बुधबार राति हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेसनल एयरपोर्टमा अवतरणका लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो।

अमेरिकी एयरलाइन्सकै विमान भने २००१ मा जोन एफ केनेडी इन्टरनेसनल एयरपोर्टमा दुर्घटनाग्रस्त भएको थियो। सो एयरबस ए३०० दुर्घटनामा २६५ जनाको मृत्यु भएको थियो।
२००९ मा यूएस एयरवेजको विमान न्युयोर्कको लागार्डिया विमानस्थलबाट उड्नेबित्तिकै चरासँग ठोक्किएर दुवै इन्जिन फेल भएपछि पाइलटले विमानलाई हड्सन नदीमा उतारेका थिए। जसमा १५५ जना यात्रु सबैको ज्यान जोगिएको थियो।
वासिङ्टनमा ६४ जना सवार विमान र सेनाको हेलिकोप्टर ठोक्किनुअघि एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई चेतावनी दिएको बताइएको छ। तर हेलिकोप्टरका तर्फबाट कुनै जवाफ प्राप्त नभएको बताइएको छ।

४३ वर्षअघिको त्यो दुर्घटना
१३ जनवरी १९८२ मा एयर फ्लोरिडाको विमान वासिङ्टन नेसनल एयरपोर्टबाट उड्नेबित्तिकै पोटोम्याक नदीको पुलमा ठोक्किएको थियो।
त्यो दुर्घटनामा ७८ जनाको ज्यान गएको थियो।
नदीमा खसेर टुक्राटुक्रा हुनुअघि सो विमानले कयौँ कारलाई पनि ठक्कर दिएको थियो।

हिमआँधीका कारण विमानस्थल बन्द थियो। विमानस्थल खुल्नेबित्तिकै सो विमान उडेको थियो। तर, सो बोइङ ७३७ ३५० फिटको उचाइमा पुग्नेबित्तिकै पुलमा ठोक्किएको थियो।
विमानमा सवार पाँच जना मात्र बाँच्न सफल भए।
विमानमा पाइलट पेसा गर्ने जोसेफ स्टिली यात्रुका रुपमा सवार थिए। पछि उनले विमान उड्नुअघि नै आफूलाई दुर्घटना हुने थाहा भइसकेको बताएका थिए। ‘किनकि विमान राम्ररी गुडिरहेको थिएन,’ उनको भनाइ थियो।
मारिएका मध्ये ४ जना पुलमा रहेका गाडीमा सवार थिए। एजेन्सी














