विधेयकप्रति हाम्रो विचार सकारात्मक छैन, मधेशकेन्द्रीत आठ दल एकतावद्ध भएर प्रस्तुत हुने तयारीमा – Sagarmathapana:: Online News Portal

विधेयकप्रति हाम्रो विचार सकारात्मक छैन, मधेशकेन्द्रीत आठ दल एकतावद्ध भएर प्रस्तुत हुने तयारीमा

   २०८१ माघ १७ गते  

काठमाडौं ।सरकारको गतिविधिमा साझा धारणा बनाउन मधेशकेन्द्रीत आठ दलहरुले कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रीत ८ दलको बैठकले सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएको हो ।

संविधान संशोधन, ऐन संशोधन र सरकारका गतिविधिमा समान धारणा बनाएर प्रस्तुत हुन कार्यदल गठन गरिएको जनमत पार्टीका शरद सिंह यादवले बताए ।

‘देशमा विकसित राजनीतिक परिस्थिति खास गरेर हामी अहिले संविधान संशोधनको पूर्व सन्ध्यामा छौं । निर्वाचन ऐनहरु पनि बनिरहेको छ,’– बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘हामी समान विचारवाहक पार्टीहरु एक भएर भविष्यका दिनहरुमा समान रुपले संगै जाऊँ भनेर ८ वटा पार्टीको एउटा मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण निर्माण गर्ने निर्णय गरेका छौं । ८ वटै राजनीतिक दलका एक/एक जना नेता रहने गरी एउटा कार्यदल गठन गरिएको छ ।’

जसपा नेपालबाट मनिष सुमन, जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजी यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन भएको पनि उनले बताए । भोलिका दिनमा ८ दलीय सहकार्यको वातावरण निर्माण गर्ने, दस्ताबेज लेख्ने, आफ्नो आचारसंहिता निर्माण गर्ने, आगामी बैठकहरुको संयोजन गर्ने उद्देश्यका साथ कार्यदलले तत्काल काम थाल्ने उनले बताए ।

बैठकमा अध्यादेशको बारेमा पनि निकै चर्चा चलेको उनले बताए । सरकारले पछिल्लो समय ल्याएको अध्यादेशमध्ये सबैभन्दा धेरै छलफल र आशंका भूमिसम्बन्धी अध्यादेशमा रहेको नेता यादवले बताए । उनले भूमिसम्बन्धी अध्यादेशलाई उनले महेन्द्रवादी सोचको संज्ञा दिए । ‘यो महेन्द्रवादी सोचले मधेशी, आदिवासी जनजाति समुदायलाई उसकै भूमिबाट विस्तापित गरी आप्रवासनको नाममा फेरि अर्को एउटा महेन्द्रीय संरचना गठन गर्ने कुत्सित प्रयास छ । त्यसप्रति हाम्रो दृष्टिकोण नकारात्मक नै छ । विधेयकप्रति हाम्रो विचार सकारात्मक छैन,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै