रोकिएको मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सबै उम्मेदवारलाई निर्वाचन समितिले पेरिसडाँडा बोलाए – Sagarmathapana:: Online News Portal

रोकिएको मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सबै उम्मेदवारलाई निर्वाचन समितिले पेरिसडाँडा बोलाए

   २०८१ माघ १५ गते  

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सबै उम्मेदवारलाई निर्वाचन समितिले पेरिसडाँडा बोलाएको छ।

गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध छ।

मतगणना अघि बढाउने प्रयास सफल नभएपछि अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले अध्यक्षका सबै उम्मेदवारलाई आज (मंगलबार) छलफलका लागि पार्टीको मुख्यालय पेरिसडाँडा बोलाएको हो।

क्रान्तिकारीको केन्द्रीय कमिटी चयनका लागि शनिबार भौगोलिक ७ प्रदेश र गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) बाट मतदान गरिएको थियो।

सात प्रदेशको मत भने गणना भइसकेको छ।

तर काठमाडौँको वाल्मीकि विद्यापीठमा खसालिएको मतको गणना भने मसी विवादका कारण आइतबारदेखि रोकिएको हो।

मतपत्रमा रेजा लगाउँदा रातो मसी मात्र प्रयोग हुनुपर्नेमा कालो मसी पनि प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिबीच विवाद भएको हो।

अध्यक्षका चार उम्मेदवारमध्ये विजय शर्मा सापकोटा कालो मसीले गरेको मतदान पनि सदर गर्नुपर्ने अडानमा छन् भने हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले भने पूर्वनिर्धारित रातो मसीवाला मतपत्रलाई मात्र मान्यता दिइनुपर्ने जिकिर गरिरहेका छन्।

अहिलेसम्मको मत परिणाम हेर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै