सर्लाहीमा माओवादीद्वारा मसाल जुलुस प्रदर्शन
काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउँदै चरणबद्ध सडक संघर्षमा उत्रिएको माओवादी केन्द्रले साँझ सर्लाहीका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ




बागमतीका मेयर भरत थापालाई सरकारले वन मुद्दामा फसाउन खोजेको भन्दै विरोध
बागमतीमा मेयर थापा, उपमेयर लीला मोक्तानसहितका जनप्रतिनिधि र बागमती नगरपालिकाका कर्मचारीलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप माओवादीले लगाएको छ।

बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।
बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दासमेत दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो।

सरकारले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप माओवादीले लगाएको छ।
आइतबार सर्लाहीमा मोटरसाइकल र्यालीसहित जिल्ला वन कार्यालय घेराउ गरेको माओवादीले मंगलबार राजमार्गमा चक्काजाम र जनसभा गर्ने तयारी गरेको छ।













