विप्लव’ नेतृत्वको नेकपाले बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गर्‍यो – Sagarmathapana:: Online News Portal

विप्लव’ नेतृत्वको नेकपाले बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गर्‍यो

   २०८१ माघ १४ गते  

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ।

कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संयुक्त रूपमा उद्घाटन गरे।

व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्योगी व्यवसायीको सुझावको आधारमा भएको बताए। उनले व्यापारिक केन्द्रले कृषिजन्य वस्तुको आयातमा कमी आउने बताए।

महासचिव विप्लवले भने, ‘कम्युनिष्ट भएको हुनाले काम गरौँ भन्ने लागेको मात्र होइन। हाम्रो देशको अर्थतन्त्र र उद्योगी व्यवसायीहरूको सुझाव तथा गाउँघरमा जग्गा बाँझो देखेर यो व्यापार केन्द्र स्थापना गरिएको हो।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपलब्ध प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न सके मुलुक आत्मनिर्भर बन्नसक्ने बताए। उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्पदा हुँदाहुँदै कृषिजन्य वस्तुको आयात हुनु विडम्बना रहेको बताए। उनले राज्यले कृषकलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताए। 


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले प्राकृतिक वस्तुको उत्पादन र वितरणको स्वामित्व कसले लिने भन्ने विषय नै आजको विश्वको मुख्य लडाइँ भएको बताए।

सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ।

1737982953-9efeR_EIKEPh0omr.jpg

1737982945-2rekv_OGcDkh84aw.jpg

1737982943-fa2ln_2o4NTILLxt.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै