अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणविरुद्ध न्यायाधीश समाजले विज्ञप्ति जारी – Sagarmathapana:: Online News Portal

अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणविरुद्ध न्यायाधीश समाजले विज्ञप्ति जारी

   २०८१ माघ १० गते  

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणविरुद्ध न्यायाधीश समाजले विज्ञप्ति जारी गरेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध  काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपश्चात  वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमण तथा सोपश्चातको क्रियाकलापका सम्बन्धमा समाजको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

“न्याय सम्पादन प्रक्रियाको अभिन्न अंगको रूपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्यमाथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो,” विशेष अदालतका अध्यक्ष समेत रहेका समाजका महासचिव टेकनारयण कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त दिन काठमाडौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानुनी कारबाही गर्नको लागि माग गर्दछ ।”

घटनाको आठ दिनपछि समाजले जारी गरेको विज्ञप्तिमा त्रिपाठीका घटनापछिका अभिव्यक्तिमा गम्भीर प्रश्न उठाइएको छ । त्रिपाठीले न्यायाधीशको आदेशका विषयमा मिडियामा गएर टिप्पणी गरेको भन्दै समाजले प्रश्न उठाएको हो ।

“सो घटनापश्चात वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीबाट विभिन्न सञ्चारमाध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा वदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वार्ता दिएको कुरा युट्युब च्यानलहरूमा प्रसारण भएको पाइएकोले सो सम्बन्धमा समेत यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,” समाजले भनेको छ, “कुनै न्यायाधीश विशेषबाट कानुन बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारबाही कानुनविपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानुन वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वभाविक हुन जान्छ ।”

वरिष्ठ अधिवक्ता जस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत हुने गरी टिप्पणी गरेको भन्दै समाजले खेद प्रकट गरेको छ ।

“वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

image-1737638411.png


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै