भीम रावललाई समर्थन गर्दै एमालेका विभिन्न तहमा सक्रिय ५९ जनाले पार्टी परित्याग
काठमाडौं । नेकपा एमालेले कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन थालेका भीम रावललाई समर्थन गर्दै एमालेका विभिन्न तहमा सक्रिय ५९ जनाले पार्टी परित्याग गरेका छन्।



सोमबार जारी गरिएको संयुक्त विज्ञप्तिमा एमालेका केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, र दुधकला विष्ट लगायत अन्य सदस्यहरूले एमालेबाट अलग हुने घोषणा गरेका हुन् ।



उनीहरूले डा. रावलको योगदानको उचित कदर नगरी पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण सदस्यता खोसिएको र राष्ट्रिय स्वाधीनता, स्वाभिमान, समृद्धि, तथा भ्रष्टाचारविरुद्धको अभियानमा उनको सक्रियताका कारण यस्तो कदम उठाइएको दाबी गरेका छन् ।
















