क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप भावुक क्रिकेट सन्यासको संकेत – Sagarmathapana:: Online News Portal

क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप भावुक क्रिकेट सन्यासको संकेत

   २०८१ माघ ६ गते  

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी२० विश्वकपका लागि क्रिकेट टोली घोषणा गरेको दिन बुधबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भावुक भएका छन्।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ। उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए। तर सन्दीपको मुद्दा किनारा लाग्न सकेन।

यसैकारण सन्दीप निराश भएका हुन सक्छन्। उनले लामो समयपछि फेसबुकमा स्टाटस लेख्दै आफू षड्यन्त्रको सिकार भएको दाबी गरेका छन्। साथै उक्त षड्यन्त्र रच्ने प्रति उनले घुमाउरो भाषामा आक्रोश पनि व्यक्त गरेका छन्। अनि सबै कुरा आफूले भगवान् भरोसामा छाडेको पनि बताएका छन्।

‘मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ। म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्‌ले आशिष दिउँन्,’ सन्दीपले अङ्ग्रेजीमा लेखेका छन्, ‘म सबै कुरा भगवान्‌मा छाड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ।’

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।

उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै