चलचित्र ‘लाज शरणम्’ स्टार स्किम अवसर’: फिल्मका शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’ को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।



निर्माण पक्षका अनुसार, सहभागीहरुले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरुले चलचित्र ‘लाज शरणम्’को इमेल [email protected] मा पाठाउन सक्ने छन् ।


प्रतियोगिहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ। यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ।
वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने छ। चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतका छन्।

सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।












