माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक – Sagarmathapana:: Online News Portal

माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक

   २०८१ माघ १ गते  

काठमाडौँ। माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रले दर्शकहरूको ध्यान तानिरहेको छ।

चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ रहेको छ। पोस्टरमा दुईवटा कलाकारलाई देख्न सकिन्छ। एकजना राजर्षी पहिरनमा छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेका छन्, जसले उनी राजा भएको संकेत गर्दछ। अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा कमजोर देखिन्छन्।

पोस्टरको दृश्य भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ, जसले आफ्ना दरसन्तानको सम्झनामा फ्रेमिङ गरेको आभास दिन्छ। स्लोगनले संकेत गर्छ कि समस्या आफैँमा छ, चाहे राजा होस् वा नागरिक।

विशेष कुरा के छ भने, यी दुवै पात्र पल शाहले निभाएका हुन्। फस्टलुक पोस्टर र स्लोगनको कारणले चलचित्रले दर्शकहरूलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ। निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै ट्रेलरमा थप सामग्री आउने जानकारी दिएको छ।

चलचित्रको निर्देशन र कथा परिच्छेद सेनले गरेका छन्। ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन्। चलचित्र दसैँको फूलपातीमा प्रदर्शन हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै