पोल्यान्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका- ७ घर भई काठमाडौँ महानगरपालिका- ३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौँ महानरगपालिका- २६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन्। कृष्ण काठमाडौँ महानगरपालिका- ३१ र बराम टेकुबाट पक्राउ परेका हुन्।

पक्राउ परेका कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ ठगी गरेको उजुरी परेको छ।
राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकाली पठाएको जनाएको छ।













