राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्दै
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि दुई दिनका लागि काठमाडौंमा बस्दैछ ।सहकारी ठगी प्रकरणमा कात्तिक २ गते रास्वपा पार्टी कार्यालय चमतीबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासत कास्कीमा छन् । सभापति पक्राउ परेको नौ दिनपछि रास्वपा सचिवालय बैठक बसेको थियो ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेयता पहिलोपटक रास्वपाले नीति तथा कार्यक्रमबारे छलफल गर्न यो बैठक राखेको हो ।
त्यसयता गत पुस ८ गते डीपी अर्याल कार्यवाहक सभापति भएपछि सचिवालय बैठक बसेको थियो । त्यहीबीच रास्वपाले केन्द्रीय कमिटीको भर्चुअल बैठक पनि राखेको थियो ।

त्यही बैठकले पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक तोकेको हो । रास्वपाजन र प्रतिष्पर्धी दलहरूले यो केन्द्रीय कमिटी बैठकलाई विशेष महत्व दिएर हेरेका छन् ।
२०८१ असार २५ गते निलम्बनमा परेका महामन्त्री मुकुल ढकाललाई पार्टीमा फर्काउने चर्चाबीच बैठक हुन लागेको हो । तर, यही बैठकमा ढकाल बारेको एजेन्डाले प्रवेश पाउने सम्भावना कम छ ।

मुकुलबारे होला छलफल ?
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाले सभापति लामिछाने संकटमा रहेको अवस्थामा केही नेताले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने तर्कहरू गरिरहेका छन् ।
तर, ढकाललाई पार्टीमा फर्काउने कुरामा नेताहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । सभापति लामिछाने र रास्वपाबारे ढकालका अभिव्यक्तिले निरन्तर घाटा लागेको भन्दै उनीसँग धेरै नेता असन्तुष्ट छन् ।

सभापतिविरुद्धको मुद्दा अदालतमा अड्किरहेको अवस्थामा पार्टी बचाउन मुकुललाई पुरानै जिम्मेवारी दिनुपर्ने तर्क केही नेताले गरिरहेका छन् ।
बुधबार मात्रै कोशी प्रदेश कमिटी सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले मुकुललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाए । ढकालबारे दुई प्रदेशका सभापतिको पत्र कार्यवाहक सभापतिलाई आएको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् ।
‘मधेस र कोशी सभापतिले कार्यवाहक सभापतिलाई पत्र पठाउनुभएको छ । पत्रबारे पार्टीले छलफल गर्ला । तर, यही केन्द्रीय कमिटीमा यो एजेन्डा प्रवेश गर्दैन’, झाले खबर हबसँग भने, ‘अस्तिको सचिवालय बैठकले एजेन्डा तय गरिसकेको छ । त्यसपछि प्रदेश सभापतिद्वयको पत्र आएको हो । साथीहरूले छलफलको विषय बनाउनुहोला, तर एजेन्डा बन्दैन ।’

महामन्त्री भइसकेको व्यक्तिले पार्टीबारे जथाभावी बोल्दै हिँडेकाले ढकालको विषयमा अहिले नै नयाँ निर्णय हुनसक्ने अवस्था नरहेको झाले बताएका छन् ।
‘राजनीति गर्ने मान्छेसँग सिद्धान्त, विचार र इमान हुनुपर्छ । उहाँ डाक्टरजस्तो मान्छेले तथ्यबाहिर गएर जथाभावी बोल्न मिल्दैन । उहाँलाई जिम्मेवारीमा फर्काउने या नफर्काउने निर्णय केन्द्रीय कमिटी बैठकले गर्छ । तर, अहिलेकै केन्द्रीय कमिटीमा यो एजेन्डा प्रवेश गराएर निर्णय गर्नुपर्ने हतारो छैन ।’
रास्वपाका केही नेताले भने ढकालले पार्टीसँग माफी मागेर पत्र पठाउनुपर्ने बताइरहेका छन् । ‘ढकालले आफ्ना गल्ती सच्याउँदै माफी मागेर पत्र पठाउनुपर्छ’, रास्वपाका एक नेताले खबरहबसँग भने, ‘पार्टीमा विश्वसनीयता र जिम्मेवारीको कुरा हुन्छ । उहाँले माफी मागेर पत्र पठाउनुपर्छ । सार्वजनिक रूपमा सच्चिँदै गल्ती नस्वीकारेसम्म साधारण सदस्य पनि दिन सकिँदैन ।’
रास्वपाका केही नेताहरूले महामन्त्रीको मनपरीविरुद्ध संगठन एक भएर लाग्नुपर्ने अवस्था आएको तर्क गरेका छन् । ‘घरी स्वर्णिम वाग्लेलाई गाली गरेको छ, घरी कसलाई मैले सांसद बनाएँ भनेर हिँडेको छ, बोलीको भर छैन’, ती नेताले भने, ‘सभापतिको साथ मिल्दा कसैलाई गन्दैनथे । सभापतिसँग मनमुटाव भएपछि हामीमाथि खनिए । सुरुबाटै सभापतिका कुरा उनलाई थाहा थियो भने हामीलाई भन्नुपर्थ्यो । तथ्यबिना राजनीति गर्नेले जथाभावी बोल्दै हिँड्न पाइन्छ र ?’
ती नेताले सभापतिका पनि कमजोरी रहेका स्वीकार्दै मुकुललाई पनि ठीक भन्न नसकिने तर्क गरे । थपे, ‘सभापतिको गल्ती छैन भन्दैनौँ । मुकुलको त्यो प्रवृत्ति पनि बोकेर हिँड्न सकिँदैन । राजनीति गर्नेले समस्या भए पहिले पार्टीमा छलफल गर्छ । त्यहाँबाट पार नलागे सार्वजनिक रूपमा बोल्छ । उहाँ त सञ्चारमाध्यममा बुरुक्क गर्दै बोलिरहनुभयो ।’
रास्वपा नेताहरू अन्य दलमा गए पनि मुकुलले बदनाम गर्दै हिँड्न सक्ने उनी बताउँछन् । जथाभावी बोल्दै हिँडेका मुकुलले अहिले केही प्रदेश सभापतिहरूलाई उचालेर आफ्ना लागि पत्र पठाउन लगाएको एकजना रास्वपा नेताले जिकिर गरेका छन् ।












