भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन – Sagarmathapana:: Online News Portal

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

   २०८१ पुष १२ गते  

काठमाडौं ।नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान मा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) मा भर्ना गरिएकामा केहीबेरमै (स्थानीय समयअनुसार २१:५१ मा) मृत घोषणा गरिएको हो ।

सिंह २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए । उनको कार्यकालमा भारतले उल्लेखनीय आर्थिक उन्नती हासिल गरेको थियो । उनको नेतृत्वमा सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षामा सुधार ल्याउने कार्यक्रमहरू रहेका थिए । उनको कार्यकालमा सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भएको थियो ।

अर्थविद् सिंह रिजर्भ बैंक अफ इन्डियाका पूर्व गभर्नर तथा अर्थमन्त्री पनि हुन् ।

सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पंजाब प्रान्तको गाह गाउँमा भएको थियो । भारत विभाजनपछि उनको परिवार भारतको पञ्जाबमा बसोबास गर्न आयो । पञ्जाब विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर शिक्षा पूरा गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा सम्मानसहितको डिग्री प्राप्त गरे। त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डी.फिल. उपाधि हासिल गरे ।

सन् २००४ मा मनमोहन सिंह भारतका प्रधानमन्त्री बनेर दुई कार्यकालसम्म नेतृत्व गरे । भारत-अमेरिका परमाणु सम्झौताले भारतलाई आणविक अलगावबाट मुक्त गर्दै नयाँ ऊर्जा सम्भावनाको ढोका खोल्यो । साथै, महात्मा गान्धी ग्रामीण रोजगार ग्यारेन्टी ऐन र शिक्षा अधिकार ऐनजस्ता सामाजिक कल्याणकारी योजनाले गरिबी निवारण र सामाजिक न्यायमा सहयोग पुर्‍यायो ।सिंहले हालैमात्रसक्रिय राजनीति छोडेका थिए ।

मनमोहन सिंहले आफ्नो राजनीतिक करियरको सुरुवात आर्थिक सल्लाहकारको रूपमा गरे । भारत सरकारका विभिन्न विभागमा उच्च पद धारण गर्नुका साथै उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघजस्ता संस्थामा पनि योगदान दिए । १९९१ मा भारत गम्भीर आर्थिक संकटबाट गुज्रिँदै गर्दा उनलाई अर्थमन्त्री नियुक्त गरियो । उनले ल्याएको उदारीकरण नीतिले भारतलाई समाजवादी व्यवस्थाबाट मुक्त गराउँदै उदार अर्थव्यवस्थाको आधारशिला तयार गर्यो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै