हङकङ-काठमाडौँ उडानमा विमानभित्रै एक यात्रुको बेहोस भई मृत्यु – Sagarmathapana:: Online News Portal

हङकङ-काठमाडौँ उडानमा विमानभित्रै एक यात्रुको बेहोस भई मृत्यु

   २०८१ पुष ९ गते  

काठमाडौँ । नेपाल एयरलाइन्सको उडानमार्फत् हङकङबाट नेपाल आएका एक यात्रुको मृत्यु भएको छ।

शनिबार बेलुका हङकङबाट नेपाल जाने क्रममा विमानभित्रै बेहोस भएका देउमान याक्सो लिम्बुको अन्तत: मृत्यु भयो।

नेपाल वायुसेवा निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौँ उडेका लिम्बु जहाजभित्रै बेहोस भएका थिए। हङकङ समयअनुसार शनिबार साँझ ६:३१ को नियमित उडान ४६ मिनेट ढिलो गरी हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो।

लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका लिम्बुको पुर्ख्यौली थलो नेपालको ताप्लेजुङस्थित हाङपाङ हो।

यात्राकै क्रममा बेहोस भएका ५३ वर्षीय लिम्बुलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो।

उनलाई तत्काल केएमसी अस्पताल लगिए पनि अस्पतालले मृत घोषित गरेको थियो।

दुई दशकअघि नै हङकङ छिरेका उनी छोराछोरीसहित जोर्डनस्थित याउमातेईमा बसोबास गर्दै आएका थिए। उनकी श्रीमती भने नेपालमै छन्। पुर्ख्यौली थलो ताप्लेजुङको हाङपाङ भए पनि उनको परिवार पछिल्लो समय धरान-१५, बाँजोगरा बस्दै आएको छ।

मृतक लिम्बु पारिवारिक भेटघाटसँगै स्वास्थ्य उपचारका लागि शनिबार नेपाल एअरलाइन्सको नियमित उडानमार्फत नेपाल गएको पारिवारिक स्रोतले जानकारी दियो।

निर्माण क्षेत्रमा कार्यरत लिम्बुमा श्वासप्रश्वासमा असहज हुने समस्या रहेको वानचाईमा बस्ने श्री पहिम लिम्बुले बताए। पहिम नातामा देउमानको मामा ससुरा हुन्।

हिजो (२१ डिसेम्बर) यात्राकै क्रममा बेहोस भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो।

अन्दाजी ५३/५४ वर्षीय उनलाई आफन्तले काठमाडौँस्थित केएमसी अस्पतालमा लगेकोमा त्यहीँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले  बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै