‘फेरि रेशम फिलिली’को प्रदर्शन तय: फागुन १४ देखि प्रदर्शनमा आउने – Sagarmathapana:: Online News Portal

‘फेरि रेशम फिलिली’को प्रदर्शन तय: फागुन १४ देखि प्रदर्शनमा आउने

   २०८१ पुष २ गते  

काठमाडौँ —’रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को प्रदर्शन तय भएको छ । निरोज महर्जनको निर्देशनमा बनेको फिल्म फागुन १४ देखि प्रदर्शनमा आउने भएको हो ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । करिब ९ वर्षअघि यो फिल्म भुकम्पको मारमा परेको थियो । प्रदर्शनको भोलिपल्टै भुकम्प आएपछि करिब ६ महिना ‘रेशम फिलिली’को प्रदर्शनमा असर पुगेको थियो ।

पुन:प्रदर्शन गर्दा पनि फिल्मले अपेक्षा गरेजस्तो दर्शक पाएको थिएन । तर, फिल्मको कथाले नै सिक्वेलको माग गरेकाले आफूहरूले ‘फेरि रेशम फिलिली’ निर्माण गरेको निर्मातासमेत रहेका कलाकार विनयको दाबी छ । ‘फिल्मको कथाले नै सिक्वेल मागेकाले निर्माण गर्‍यौं । यो फिल्म मेरो ह्रदय निकटको फिल्म पनि हो,’ विनयले भने

फिल्ममा उनीसँगै अभिनेत्री सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । फिल्ममा अभिनेत्री मेनुका प्रधान भने दोहोरिएकी छैनन् ।

कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै