एनपीएल क्रिकेट अन्तर्गत आज भएका खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्स विजयी – Sagarmathapana:: Online News Portal

एनपीएल क्रिकेट अन्तर्गत आज भएका खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्स विजयी

   २०८१ मंसिर २८ गते  

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएका खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्स विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्दा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हरायो । आजको दोस्रो खेलमा १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।

चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे ।

चितवनका रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए । जितसँगै विराटनगर ६ खेलबाट ४ अङ्कका साथ पाँचौं स्थानमा उक्लेको छ । प्लेअफमा स्थान बनाउन विराटनगरलाई आफ्नो अन्तिम खेलमा जित्नै पर्ने दबाब छ ।

विराटनगरको अर्काे खेल पर्सि आइतवार काठमाडौं गुर्खाजसँग खेल्ने छ । यता, चितवन ६ खेलबाट ६ अङ्कसहित चौथो स्थानमा छ । चितवनले आफ्नो अन्तिम खेल भोली जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै