घरजग्गा व्यवसायी विक्रम लामा रड प्रहार प्रकरण: सांसद दीपक मनाङे को समेत संलग्नता – Sagarmathapana:: Online News Portal

घरजग्गा व्यवसायी विक्रम लामा रड प्रहार प्रकरण: सांसद दीपक मनाङे को समेत संलग्नता

   २०८१ मंसिर २६ गते  

काठमाडौं । प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित नुवाकोट घर भई टोखा नगरपालिका-३ ग्राण्डी बस्ने ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउ गरी काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

गत ११ कात्तिकमा घरजग्गा व्यवसायी विक्रम लामामाथि पेसेवर गिरोहले सांघातिक आक्रमण गरेको थियो ।काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको रड प्रहारमा गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)को समेत संलग्नता रहेको खुलेको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङे अहिले डिल्लीबजारस्थित सदरखोर कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

गत ११ कात्तिकमा घरजग्गा व्यवसायी विक्रम लामामाथि पेसेवर गिरोहले सांघातिक आक्रमण गरेको थियो । टाउको, शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस खुलेको थियो । प्रहरीका अनुसार बेलायतमा बस्दै आएकी लक्ष्मी राईको योजनामा मनांङेले लामामाथि सांघातिक हमला गर्न लगाएका थिए । जिल्ला अदालत काठमाडौंले लक्ष्मी राई र धादिङका रमेश सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

संगठित तवरले भएको घटनामा दीपक मनाङे पनि संलग्न रहेको देखिन्छ । लक्ष्मी राईको आग्रहपछि मनाङेले हमला गर्न युवा परिचालन गरेको खुलेको छ । हाल बेलायतमा रहेकी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।

हमलाको योजना बनाउने, कार्यान्वयनका लागि जिम्मा लिने र कार्यान्वयन गर्न ‘फिल्ड’मा खटिने व्यक्ति फरक–फरक भूमिकामा बसेर हमला गराइएको हुँदा प्रहरीले घटनालाई ज्यान मार्ने उद्योगसहित संगठित कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ । हमला गर्ने उद्देश्यले राई–मनाङे र मनाङे–हमलाकर्ताबीच पटक–पटक टेलिफोन वार्ता भएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान भइरहेकाले घटना सम्बन्धमा केही नबोल्ने बताए । ‘गत ११ कात्तिकमा एक युवामाथि सांघातिक हमला भएको थियो । त्यसबारे अनुसन्धान जारी छ । यस सम्बन्धमा अहिले बोल्ने वेला भएको छैन,’ उनले भने ।

घटनामा संलग्नमध्ये मार्सल भनिने शैलेन्द्र तामाङलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अजय लामा, निश्चल सुनार र दीपक ब्ह्रामू भने फरार थिए । पछि सुनारलाई पनि प्रहरी पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका– २ का शैलेन्द्ररिुद्ध एक वर्षअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी छाया सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा भएको सांघातिक हमलामा संलग्न थिए ।

त्यस्तै, अजय ठगी मुद्दामा ४० हजार जरिवानासहित तीन वर्ष ६ महिना जेल भुक्तान गरेर चार महिनाअघि मात्रै छुटेका प्रतिवादी हुन् । उनले ९ पुस ०८० मा ठमेलमा बर्दीधारी प्रहरीमाथि ‘किक’ प्रहार गरेका थिए । घटनामा ड्युटी गरिरहेका प्रहरी जवान लोकबहादुर बुढाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनीसहित तीनजनाविरुद्ध प्रहरीले त्यसवेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।

प्रहरीका अनुसार घरजग्गा व्यवसायी लामामाथि आक्रमण योजनाबद्ध ढंगले गरिएको छ । रड प्रहारका लागि योजनाकारले अजय, शैलेन्द्र, निश्चल र दीपकलाई ६० लाख रुपैयाँको सुपारी दिएको पीडित लामाको दाबी छ । घटनामा संलग्नमध्ये शैलेन्द्रले ‘६० लाखको सुपारी प्राप्त भएको’ भन्दै हत्याका निम्ति गाउँमा युवाको खोजी गरेको रड प्रहारबाट घाइते विक्रम लामाले बताए । ‘मलाई रड प्रहार गर्नेमध्ये शैलेन्द्रले मेरै गाउँमा गएर ‘६० लाखको सुपारी आएको’ भन्दै हत्या गर्ने युवाको खोजी गरेको रहेछ । उसको प्रस्तावलाई युवाहरूले अस्वीकार गरेछन् । ती युवा मकहाँ आएर सबै वृत्तान्त बताए । म छक्क परेँ,’ उनले भने । नुवाकोट ककनी गाउँपालिका– ६ का ३५ वर्षीय लामा नेपाल भूमि रियल इस्टेटका सञ्चालक हुन् । उनीमाथि रड प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सफल ‘इन्टरप्रेनर’को हवाला दिँदै ‘हाई प्रोफाइल’सँग फोटो खिच्दै 
लक्ष्मी राई आफूलाई सफल गहना व्यवसायी र समाजसेवीका रूपमा चिनाउँछिन् । उनको बेलायत अल्डरसट भिक्टोरिया रोडमा ‘न्यु लक्ष्मी ज्वेलर्स’ नामको गहना पसल छ । १२ वर्षअघि उनले नुवाकोट ककनी गाउँपालिका– ६ का दीपेश लामाको सहकार्यमा गहना पसल खोलेकी थिइन् । पछि दुईबिच विवाह भएको थियो । पसल श्रीमान् दीपेशलाई सञ्चालन गर्न दिइन् । मनमुटावपछि दुईबिच पाँच वर्षअघि नै सम्बन्धविच्छेद भइसकेको छ ।

नेपालमा रहँदा उनको उठबस हुन्डी र सुन तस्करीमा संलग्न जीवन चलाउनेसँग थियो । त्यसबाहेक उनको गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङसँग पनि बाक्लो उठबस थियो । उनले आफ्नो गहना पसलको शाखा अमेरिका र क्यानडामा पनि रहेको तथा कारोबार ८५ भन्दा धेरै मुलुकसँग हुने गरेको बताउँथिन् । त्यसबाहेक उनले बेलायतका तत्कालीन प्रधानमन्त्री ऋषि सुनक र उनका मन्त्रिपरिषद्का अन्य मन्त्रीसँग पनि राम्रो सम्बन्ध रहेको दाबी गर्थिन् । सोही हवाला दिएर उनले नेपालका प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वपर्यटनमन्त्री सुदन किराँतीसँग पनि फोटो खिच्न भ्याएकी थिइन् ।

राईसँग दुई मुलुकको राहदानी र नागरिकता
ज्यान मार्ने उद्योग तथा संगठित अपराध कसुरमा पक्राउ पुर्जी जारी भएकी लक्ष्मी राईसँग नेपाल र बेलायतबाट जारी भएको नागरिकता र राहदानी छ । दुवै मुलुकबाट जारी भएको नागरिकता र राहदानी उनले हालसम्म पनि प्रयोग गर्दैै आएकी छिन् ।

प्राप्त विवरणअनुसार उनको नेपाली राहदानी २८ फेब्रुअरी २०२४ मा जारी भएको देखिन्छ । जसको म्यादावधि २७ फेब्रुअरी २०२४ सम्म छ । भोजपुर जन्मस्थान उल्लेख भएको राहदानीमा उनको जन्ममिति ८ फेब्रुअरी १९७५ उल्लेख छ । राहदानी नम्बर ०७११३०३४ उल्लेख गरिएको छ भने नागरिकता नम्बर २२३७५–२०६०–०६१ लेखिएको छ । बेलायतबाट जारी भएको राहदानीमा जारी मिति २५ जुलाई २०१४ आइपिएस उल्लेख छ । राहदानीको म्यादावधि २५ जुलाई २०२४ छ । राहदानीमा उनलाई ब्रिटिस नागरिक भनिएको छ । राहदानी नम्बर भने ५१९१८२२० उल्लेख छ । यस विषयमा प्रतिक्रिया लिन नयाँ पत्रिकाले राईलाई गत २७ कात्तिकमै इमेल गरेको थियो । तर, उनले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै