कर्णाली याक्स टोलीमा अनुबन्ध ओमानका पूर्व कप्तान नेपाल आइपुगे – Sagarmathapana:: Online News Portal

कर्णाली याक्स टोलीमा अनुबन्ध ओमानका पूर्व कप्तान नेपाल आइपुगे

   २०८१ मंसिर १४ गते  

काठमाडौं ।एनपिएलमा कर्णाली याक्स टोलीमा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सुद नेपाल आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए ।

मक्सुदले ओमानका लागि ७३ टि ट्वान्टी खेलमा १ हजार ३ सय ६९ रन तथा बलिङमा ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेटसँग नजिकबाटै परिचित पनि छन् ।

कर्णालीमा ज्ञानेन्द्र प्रशिक्षक तथा तीव्र गतिका बलर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । टोलीका विदेशी खेलाडीमा मक्सुदका अलावा हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन र भारतका शिखर धवन रहेका छन् । वाल्टन र हायत यसअघि नै नेपाल आइसकेका छन् ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुलशन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल शनिवारदेखि पुस ६ सम्म हुँदैछ । मंसिर १७ मा जनकपुर बोल्ट्ससँग खेल्दै कर्णालीले लिग सुरुवात गर्नेछ ।

एनपिएलमा कर्णाली याक्सको खेलतालिका

मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २१ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २२ गते विराटनगर किंग्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
पुस १ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै