सेवाग्राहीका व्यक्तिगत विवरण बेच्ने’खल्ती वालेट’का कर्मचारी पक्राउ – Sagarmathapana:: Online News Portal

सेवाग्राहीका व्यक्तिगत विवरण बेच्ने’खल्ती वालेट’का कर्मचारी पक्राउ

   २०८१ मंसिर १२ गते  

काठमाडौँ —सेवाग्राहीका व्यक्तिगत विवरण आपराधिक गिरोहलाई बेच्ने ‘खल्ती वालेट’का कर्मचारी पक्राउ परेको छ ।

भुक्तानी सेवा प्रदायक ‘खल्ती वालेट’का केही कर्मचारीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।

सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्यलाई तीव्र पारेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै