क्रिकेट खेलाडीहरू सम्मानित
काठमाडौं । विश्वकप खेल्ने इतिहास रचेको भन्दै क्रिकेटरसहित विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका तीनजनालाई नेपाली कांग्रेस स्याङ्जाले सम्मान एवं पुरस्कृत गरेको छ।विश्वकप खेल्ने तयारीमा रहेका उनीहरूको हौसला बढाउने उद्देश्यले नेपाली कांग्रेसले सम्मान गरेको हो।
पुतलीबजार नगरपालिका- १ स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापाले तीन खेलाडीसहित जिल्ला क्रिकेट संघ स्याङ्जालाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन्।
खेलाडीहरूलाई जनही १५/१५ हजारसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको छ। पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा सम्मानित भएका हुन् ।
‘खेलाडीका लागि मापदण्ड अनुरुपको खेलमैदान निर्माणसँगै प्रशिक्षणको आवश्यक रहन्छ त्यसका लागि राज्यले ध्यान दिन जरुरी छ,सभापति एवं सांसद थापाले भने,‘उनीहरुको मनोबल उचो बनाई खेल्ने वातावरण बनाउन तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्छ।’
सांसद थापाले विश्वकपमा उपाधी हात पार्न सफलताको शुभकामना दिए। कार्यक्रममा गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, सहसचिव धुवबन्धु पौडेल, सदस्य शैलेन्द्रजंग कार्की, प्रदेश प्रतिनिधि महेशबहादुर थापा गणेश, पुतलीबजार नगरसभापति सुरज अधिकारी, पूर्वमहासमिति सदस्य बुद्धिमान शाही, पूर्वकोषाध्यक्ष प्रेमराज पौडेल, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसी, संघ दिवाकर थापा लगायतले खेलाडी एवं अध्यक्षलाई बधाई एवं शुभकामना दिए।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु–१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाएको हो। आउदो जनवरी १८ देखि २ फेबु्रअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदैछ ।
प्रतियोगिताका लागि उनीहरु अब बन्द प्रशिक्षणका लागि खेलाडीहरू एक/दुई दिनमै त्यसतर्फ जाने भएको अध्यक्ष थापाले जानकारी दिए।












