चोरीको आरोप लाग्यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई
काठमाडौं– फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई चोरीको आरोप लागेको छ ।उपन्यासकार डा.शिवशंकर बस्यालले ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’ बाट चोरी गरिएको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा शनिवार उपन्यासकार डा.बस्यालले ‘पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास’ शीर्षकमा एउटा लामो पोस्टमार्फत कसरी आफ्नो उपन्याससंग फिल्मको कथा मिलेको छ भन्ने धारणा व्यक्त गरेका छन् ।

बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दा खेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसै बीचमा ‘सङ्ग्रामपुर’ उपन्यास पढेका एक जना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्ग्रामपुर उपन्यासभित्र रहेको कथासंग मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगेँ । पूर्णबहादुरको सारङ्गीलाई एक पटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा सङ्ग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्गमात्र यी पाएँ ।
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।
२. पूर्णबहादुरको स्त्री विछोडको रहस्यमयी प्रसङ्ग सङ्ग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमानसंग मिल्दा छन् ।
३. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक–पटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु ।
६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७. सङ्ग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९. रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।












