डिफेन्डिङ च्याम्पियन बंगलादेश टिमसँग जोडिएको विवादले पूर्णविराम पाउने छाँट देखिएको छैन – Sagarmathapana:: Online News Portal

डिफेन्डिङ च्याम्पियन बंगलादेश टिमसँग जोडिएको विवादले पूर्णविराम पाउने छाँट देखिएको छैन

   २०८१ कार्तिक १४ गते  

काठमाडौँ —डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ महिला च्याम्पियनसिपको फाइनलमा त प्रवेश गरेको छ । तर,बंगलादेशी टिमका अधिकांश सिनियर खेलाडी वर्तमान प्रशिक्षक पिटर बटलरको विपक्षमा छन् ।

टिमसँग जोडिएको विवादले पूर्णविराम पाउने छाँट देखिएको छैन । बंगलादेशले भुटानलाई ७–१ ले सजिलै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । बंगलादेशले भारतसम्मिलित समूह ‘ए’ पनि जितेको थियो ।

बंगलादेशका पुराना खेलाडी यसअघिका प्रशिक्षक गोलाम रब्बानी छोटनको पक्षमा छन् । उनीहरूले छोटनलाई नै फेरि टिमको प्रशिक्षक बनाउनुपर्ने माग राखेका छन् । बंगलादेशले छोटनकै नेतृत्वमा सन् २०२२ को साफ च्याम्पिनयसिप जितेको थियो । बटलरले भने पुरानो सबै तथ्य बिर्सेर टिमले खेल्नुपर्नेमा जोड दिइरहेका छन् ।

बंगलादेशी टिमका अधिकांश सिनियर खेलाडी वर्तमान प्रशिक्षक पिटर बटलरको विपक्षमा छन् । ती पुराना खेलाडीले इंग्लिस प्रशिक्षकमाथि आफूहरूलाई वेबास्ता गरेको र नयाँलाई मात्र अवसर दिइएरहेको बताएका छन् । लिग चरणको खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएपछि पनि बलटरको आलोचना गरिएको थियो ।

त्यति बेला बलटरले अहिलेको वर्तमान महिला टिमले बंगलादेशको पुरुष टिमभन्दा राम्रो खेल्ने गरेको दाबी गरेका थिए । तिनै प्रशिक्षकले भुटानविरुद्धको प्रभावशाली जितपछि आफू बराबरको प्रशिक्षक बंगलादेशी फुटबलमा नरहेको दाबी गरेका थिए । उनले भनेका छन्, ‘मैले जुन स्तरको फुटबल खेलेको छु र प्रशिक्षण दिएको छु, त्यसको बराबर कोही पनि बंगलादेशमा छैनन् ।’

त्यसैले उनले सबै खाले आलोचना वास्ता नगरेको र टिमको प्रदर्शनमै केन्द्रित भएको बताएका थिए । भुटानविरुद्धको खेलपछि कप्तान सविना खातुनले पनि सामाजिक सञ्जालमा बलटरको आलोचना गरेकी थिइन् । तर, केही समयपछि नै माफी पनि मागेकी थिइन् र आफ्नो पोस्टलाई हटाएकी थिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै