न्युजिल्यान्डले भारतमाथि पहिलो टेस्टमा ८ विकेटको जित
एजेन्सी – न्युजिल्यान्डले भारतमाथि सन् १९८८ को नोभेम्बर पछि पहिलो पटक घरेलु मैदानमा पराजित गरेको छ ।
न्युजिल्यान्डले भारतसँगको पहिलो टेस्टमा ८ विकेटले जित हात पारेको छ । ३ टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ ।
पाँचौं तथा अन्तिम दिन आइतवार १ सय ७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका विल योंगले ४८ तथा रचिन रविन्द्रले ३९ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए ।
सरफराज खानको शतकका बाबजुद भारतले पाहुना न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको थियो । भारत पहिलो इनिङमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो इनिङमा घरेलु भारतले ४ सय ६२ रन मात्र जोडेपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो ।
सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।
घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको थियो ।
३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।
त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।
भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३.२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।
दोस्रो इनिङमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । दुई देश बीचको दोस्रो टेस्ट आगामी बिहीवारबाट पुनेमा सुरु हुनेछ ।












