मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र विक्रम बेघा बिचमा विवाद
धरान । वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र विक्रम बेघा बिचमा विवाद चुलिएको छ । मेयर साम्पाङ बेलायत जाने भएपछि साम्पाङले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेको विषय विवादित बनेको हो ।
वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् । उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने दाबी गरेका छन् ।
उनले भनेका छन्- ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लगेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन । सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था गरेको छ ।’












