मानुषी लघुवित्तको आईपीओ बाँडफाँड,३६ हजार ८ सय ५९ जनालाई १०-१० कित्ता
काठमाडौँ। मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेको छ । उक्त बाँडफाँड सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सम्पन्न भएको हो । उक्त आईपीओको प्री-अलोटमेन्ट भदौ ३ गते, बिहीबार सम्पन्न भएको थियो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओको लक्की नम्वर ४ रहेको छ । बाँकी ३ दिनको लागि लक्की नम्वर ८ रहेको छ । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन्। बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे छ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।












