खोटाङवासीको खुसी फेक्सिङटारको पुलसँगै सुनकोसीको बाढीले बगाइदियो
काठमाडौँ । खोटाङबाट -गाईघाट, बेलटार, धरान, विराटनगर, इटहरी, झापा, धनकुटा जोड्ने सुनकोसी फोक्सिङटारको एकसय २० मिटर लामो पक्की पुल बाढीले बगाइ दिएको छ।
सरकारले दिक्तेल–गाईघाट सडकमा यातायातका साधन सञ्चालनमा सहज बनाउने र खोटाङासीको कष्टकर जीवनलाई सहज बनाउने उद्देश्यले सुनकोसीको फोक्सिङटारमा एकसय २० मिटर लामो पक्की पुल निर्माणको काम थालेको थियो।
दैनिक उपभोग्य बस्तुहरू दाल, चामल, नुन, तेल, लगायत खरिद गर्न तीनदिनको बाटो हिँडेर छिमेकी जिल्ला उदयपुरको गाईघाट र बेलटार बजार ढाकर बोकेर आउथे खोटाङवासी।

कोशी प्रदेश राजधानी विराटनगर लगायतका तराईका जिल्लाहरूसँग यातायातका साधनको पहुँच पुगेपछि खोटाङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन र निजी क्षेत्रको लगानी भित्रिन थालेपछि जिल्लावासीमा खुसीको सिमा नै थिएन। फोक्सिङटारमा पुल बनेपछि खोटाङबाट गाईघाट, बेलटार, धरान, विराटनगर, इटहरी, झापा, धनकुटा यातायातका स्थानमा यातायातका साधन चल्न थाले। यसले खोटाङवासीलाई काठमाडौं, धरान, विराटनगरका ठूला अस्पताल गएर स्वास्थ्य उपचार गर्न, उच्च शिक्षा अध्ययन गर्न तथा दैनिक उपभोग्य बस्तुको खरिद गर्न सहज भयो।
फोक्सिङटारमा पुल बेनसँगै खोटाङवासीले दुःखका दिन गए भन्दै खुसीयालीसमेत मनाए। तर, यो पुल बाढीले बगाएपछि खोटाङवासीको खुसीयाली तीन वर्ष पनि टिक्न नपाएको दिक्तेल रुपाकोट नगरपालिकाका मेयर तीर्थ भट्टराईले बताए। ‘खोटाङवासीको खुसी फेक्सिङटारको पुलसँगै सुनकोसीको बाढीले बगाइदियो’, उनी भन्छन् ‘प्रकृतिले पनि हाम्रो खुसीलाई थप पीडा दिएको छ।’
एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले फोक्सिङटारको पुल निर्माण सम्पन्न हुनेबित्तिकै बाढीले बगाएकाले तत्काल पुनः निर्माण गरी जिल्लावासीलाई तत्काल यातायातको सुविधा दिन सरकारसँग माग गरेका छन्। उनले तत्काल पुलको डिजाइन परिवर्तन गरी बाँकी रहेका संरचनाको प्राविधिक चेकजाच गरी पुलको पुन निर्माण अगाडि बढाउन सुझाव दिएका छन्।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले संघीय सरकारसँगको सहकार्यमा तत्काल फोक्सिङटारमा बेलीव्रिज लगाएर तराईका जिल्ला जोडने गाईघाट–दिक्तेल सडक संचालन गर्ने बताएका छन्।
फोक्सिङटारको पुल बगाएपछि खोटाङवासी दूधकोसी तरेर ओखलढुङ्गा, सुनकोसी तरेर उदयपुरको घुर्मी, कटारी हुँदै र भोजपुर पुगेर अरुण नदी तरेर धनकुटा हुँदै धरान, विराटनगर आउन बाध्य भएका छन्।
तराईका जिल्लासँग यातायातको सिधा सम्पर्कका लागि सुनकोसीका विभिन्न स्थानमा सातवटा पक्की पुलको निर्माण थालिएको भए पनि सबै पुल अधुरा छन्। खोटाङ–उदयपुर जोड्न सुनकोसीको बंसिलाघाट, धाप्लाङघाट, रानिटार, घोपाटार, कर्लेघाट र महादेशबेसीमा पक्की पुल निर्माणको काम भइरहेको छ। यीमध्ये तत्काल एउटा पुल को निर्माण सम्पन्न गरी खोटाङवासीलाई यातायातको सुविधा प्रदान गर्न खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले सरकारसँग माग गरेका छन्। 












