एसजेएम १०औँ एसियन उसु च्याम्पियनसिप २०२४ मा नेपालका शिवजी सिलवालले जिते कांस्य पदक – Sagarmathapana:: Online News Portal

एसजेएम १०औँ एसियन उसु च्याम्पियनसिप २०२४ मा नेपालका शिवजी सिलवालले जिते कांस्य पदक

   २०८१ आश्विन २ गते  

एसजेएम १०औँ एसियन उसु च्याम्पियनसिप २०२४ मा नेपालका शिवजी सिलवालले कांस्य पदक जितेका छन्।

२५ देशको सहभागिता रहेको उक्त खेल सोमबार यही सेप्टेम्बर १२ देखि १५ सम्म मकाउको ट्याप सिक मल्टिस्पोर्ट प्याभिलियनमा भएको थियो।

खेलमा नेपाल उसु महासंघबाट ६ जनाले भाग लिएका थिए। जसमध्ये ८५–९० केजी समूहमा सिलवाले तेस्रो स्थान सुरक्षित गर्दै कांस्य पदक जितेका हुन्।

त्यस्तै, थाउलु नानछावन विधामा दिपक हमालले छैटौँ स्थान सुरक्षित गरेका छन्।

कांस्य पदक विजेता सिलवाल देशको प्रतिनिधित्व गरी पदक जित्दा आफू निकै हर्षित रहेको बताउँछन्।

‘नेपाल हुँदैदेखि जितको लागि निकै मेहनत गरेको थिएँ तर पहिलो चाहिँ हुन सकिनँ,’ सिलवालले नेपालखबरसँग भने, ‘तैपनि कांस्य पदक हासिल गरेँ। आफ्नो देशको प्रतिनिधित्व गरेर यहाँ आउँदै गर्दा कांस्य पदक पाएर म एकदमै खुसी छु।’

देशको लागि मेडल दिन पाउँदा आफू गौरन्वावित भएको उनी सुनाउँछन्। देशको झन्डा अन्तर्राष्ट्रिय जगतमा फैलाउने आफ्नो लक्ष्य रहेको समेत उनले सुनाए।

‘आगामी दिनमा पनि खेललाई निरन्तरता दिनेछु,’ सिलवाल थप्छन्, ‘भविष्यमा पक्कै पनि देशको झन्डा अन्तर्राष्ट्रिय जगत्मा फैलाउनेछु।’

नेपाली टोलीमा सिलवाल र हमाल बाहेक निकेस श्रेष्ठ, दिपकुमार तामाङ, मन्जुर महर्जन र दिपलाल लामा रहेका छन्।

नेपाल उसु महासंघका सचिव समेत रहेका तामाङ कोच हुन् भने महर्जनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, लामा टिम व्यवस्थापक हुन्।

खेलमा भाग लिन निजी खर्चमा मकाउ आइपुगेको नेपाली टोलीलाई नेपाल आदिवासी जनजाति महासंघ, मकाउले सम्मान एवं बधाई कार्यक्रम आयोजना गरेको थियो।

संंस्थाका अध्यक्ष भीमकुमार राई अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लिलबहादुर गुरुङ (गोरा)ले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन वीरेन वाइवाले गरेका थिए।

सम्मान कार्यक्रममा गुरुङ (तमु) समाज मकाउ, मगर संघ मकाउ, नेपाल तामाङ घेदुङ संघ मकाउ, शेर्पा समाज मकाउ, मकाउ नेवा गुठी, किरात राई यायोक्खा मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ लगायतका संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

मकाउको पोटासमा गरिएको कार्यक्रम बीबीक्यू सहित समापन भएको थियो।

कार्यक्रममा खेलाडीहरूको तर्फबाट निकेस श्रेष्ठले आभार तथा धन्यवाद व्यक्त गरेका थिए।

नेपाली टोली भोलि (१८ सेप्टेम्बर) नेपाल फर्कने छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै